images
images

पूर्वाधार बनाउन तीन योजना सञ्चालन


  • 337
    SHARES
  • २०७८ मंसिर २२ गते बुधबार

    पूर्वाधार बनाउन तीन योजना सञ्चालन

    काठमाडौं । जिल्लाको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिकाले १ करोड दुई लाख ८९ हजार ६ सय ७७ रुपैयाँ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च स्थानको खेलमैदान निर्माण गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले तीनवटै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिए ।

    “गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको छ”, उनले भने “झिँ–टोड्के सडक र टोड्के हाइअल्टीच्युड खेलमैदान निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।” वडा नं ५ मा पर्ने झिँ गाउँबाट टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुशी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित ५८ लाख २ हजार ७ सय ३२ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान १ करोड १लाख गरिएको थियो । गाउँपालिकाका इञ्जीनियर सुदीप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४ सय २५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतिक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउन लागिएको जानकारी दिए । 

    यसैगरी  ३८ लाख ८० हजार रुपैयाँ लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्शनसँग २१ लाख ६३ हजार ३१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ती सुधार तथा नाली बनाउने, ढुङ्गा बिछ्याएर सोलिङ गर्ने योजना छ ।

    सडक र पदमार्ग निर्माण भएपछि झिँ हुँदै टोड्के जाने पर्यटकहरूले सुरक्षित र सहजरूपमा यात्रा गर्न पाउने वडाध्यक्ष मनबहादुर थजालीले बताए । “यात्रा सुरक्षित, सहज हुने, यात्राअवधि र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ”, उनले भने, “पाखोको चिप्लो र भिरालो तथा साघुरो कच्ची पदमार्गमा चिप्लिएर लड्ने समस्या थियो ।”

    टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग २३ लाख २३ हजार ९ सय १४ रुपैयाँमा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८ सय ८० रुपैयाा लागत अनुमान गरिएको थियो । पदमार्ग निर्माण भएपछि समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाइमा गुराँसको जङ्गलको बीचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।

    धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत छ । स्वर्गद्धारीको शाखा र शिव मन्दिरको जिर्णोद्धार गर्न विस्तृत परियोजना प्रतिवेदन बनाएर पुरातत्व विभागमा प्रस्ताव गरिएको छ ।

    गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयको १० लाख रुपैयाा सहयोगमा सिद्ध सामुदायिक वन उपभोक्ता समूहले टोड्केमा उद्यान निर्माण गरेको थियो । यसैगरी मङ्गला गाउँपालिकाले पूर्णगाउँबाट टोड्के जोड्ने सडक स्तरोन्नति गरेको थियो । यसअघि गण्डकी प्रदेश सरकारको सहयोगमा टोड्केको फेदीमा पर्ने झिँगाउँमा सामुदायिक घरबास सञ्चालन भएको थियो ।

    निजी क्षेत्रले दुई वर्षअघि टोड्केमा घरबास र रिसोर्ट सञ्चालन गरेका थिए । दैनिक १ सय जना बास बस्न सक्ने टोड्के घरबास तथा रिसोर्ट सञ्चालन भएपछि भ्रमणमा जाने पर्यटकलाई सहज भएको छ । रिसोर्टका सञ्चालक भीमप्रसाद शेरचनले केही समययता आन्तरिक पर्यटकको आगमन र चहलपहल बढेको बताए । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा०को टोलीले मङ्गलबार टोड्केको पर्यटकीय सम्भाव्यता अध्ययन गरेर फर्किएको छ । टोड्केबाट नयाँ गन्तव्यको अध्ययन सुरु गरेको नाटाका कार्यक्रम संयोजक तारा गौतमले बताइन् ।

    “नेपालमा आउने पर्यटकलाई घुमाउने स्थान खोज्न निस्किएका हौँ”, उनले भनिन् “म्याग्दीको टोड्के, मुस्ताङको नाउरीकोट, गुरुसाङबो गुम्बा, भुरतुछो र सेकुङ ताललाई प्रवद्र्धन गर्ने योजना छ ।” पर्यटकीयस्थलहरूको निरीक्षण गरेर पर्यटक ल्याउनका लागि प्याकेज बेच्ने नाटाका प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।


    images
    images

    Logo