काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी आजको खेलमा जित निकाल्दै आफ्नो स्थान थप बलियो बनाउने लक्ष्यमा हुनेछ । यता विराटनगरका लागि प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ ।
६ खेलबाट ९ अंक जोडेको लुम्बिनी तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट ६ अंक बटुलेको विराटनगर पाँचौँ स्थानमा छ ।
यसैबीच, हिजो भएका खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । प्लेअफमा स्थान बनाउन चितवनले अब कर्णाली याक्सलाई हराउनुपर्नेछ । जनकपुरसँगै कर्णाली र पोखरा एभेन्जर्स भने प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।
हिजोकै अर्को खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै लगातार तेस्रोपटक प्लेअफमा स्थान सुरक्षित गरेको छ । सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा छ ।
एनपीएलका पछिल्ला खेलमा ब्याटरहरूलाई रन बनाउन कठिन भइरहेको छ । पिच बलरका लागि अनुकूल देखिँदा ब्याटरहरू संघर्षरत छन् । हिजोका दुवै खेलमा बनेको न्यून योगफल र लक्ष्य पछ्याउने क्रममा देखिएको कठिनाइले प्रतियोगिताको पिचबारे समेत प्रश्न उठाएको छ ।



