काठमाडौं । मकवानपुरको भिमफेदी नजिकै माइक्रो बस दुर्घटनामा परेर १० जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको हो । घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका १० जनालाई अस्पताल पठाइएको छ ।
अन्यको खोजी भइरहेको छ । खसर्घट्नास्थल भीरमा भएकोले खोजीमा समस्या भएको ढकालले बताए । आज बिहान करिब पौने ६ बजे काठमाडौं –कुलेखानी–भीमफेदी सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । दुर्घटनमा परेको माइक्रोबसको नम्बर खुल्न नसकेको र माइक्रोबसमा करिब १४ जना यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ ।



