images
images

भीमफेदी गाडी दुर्घटना, मृतकको संख्या १४ पुग्यो


  • 176
    SHARES
  • २०८३ कार्तिक २६ गते बिहीबार

    भीमफेदी गाडी दुर्घटना, मृतकको संख्या १४ पुग्यो

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको माइक्रो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । ६ जना घाइते छन् । बिहीबार बिहान करिब ६ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रो सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको थियो । 

    दुर्घटनामा मृत्यु भएका १४ मध्ये ११ जनाको शव हेटौँडा अस्पतालमा लगिएको थियो । थप तीनजनाको शव दुर्घटनास्थलमा दिउँसो फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पछि फेला परेका तीनजनाको पहिचान खुल्न बाँकी छ । 

    दुर्घटनामा परी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २५ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपीकाकुमारी यादव, २५ वर्षीय सुवोध यादव रहेका छन् । त्यसैगरी ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय रामदुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्रीदेवी यादव, २७ वर्षीया पुनम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सर्लाहीकै कविलासी नगरपालिका–८ का ३० वर्षीय चालक रविशंकरकुमार मण्डलको पनि ज्यान गएको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना उपचारपछि हेटौँडा अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । तीनजनालाई थप उपचारका लागि चितवन  पठाइएको छ ।

    डिस्चार्ज हुनेमा चक्रघट्टा–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव छन् । चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदीप यादव छन् । उनीहरूमध्ये देवेन्द्रको अवस्था गम्भीर छ । अरू दुईजनाको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ । 




    images
    images

    Logo