काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले ब्याजदर घटाएका छन् ।
मंसिरका लागि २० वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर स्थिर राखेका छन् भने ६ वटाले घटाएका छन् । कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।
मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ब्याज सानिमा बैंकले दिने भएको छ । बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ । यसअघि पनि सानिमाले यही दरमा ब्याज दिँदै आएको थियो ।
त्यस्तै, एनएमबि र प्रभु बैंकले अधिकतम ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर दिने भएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर माछापुच्छ्रे बैंकको ३.५ प्रतिशत रहेको छ ।
संस्थागत मुद्दती निक्षेपतर्फ पनि सानिमा बैंक नै अगाडि छ । बैंकले अधिकतम ३.५१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंकले ३.५ प्रतिशत तथा एभरेष्ट, लक्ष्मी सनराइज, हिमालयन र एनएमबि बैंकले समान ३.२५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
६ बैंकले घटाए ब्याजदर
मंसिरका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाउनेमा माछापुच्छ्रे, कृषि विकास, एनएमबि, लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ । कृषि विकास बैंकले ४.१५ प्रतिशतबाट ३.६५ प्रतिशत कायम गरेको छ ।
त्यस्तै, एनएमबि बैंकले ०.२५ प्रतिशत विन्दुले घटाएर ३.२५ प्रतिशत, लक्ष्मी सनराइजले ४ प्रतिशतबाट ३.७५ प्रतिशत, कुमारी बैंकले ३.७ प्रतिशतबाट ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७ प्रतिशतबाट ३.६५ प्रतिशतमा झारेका छन् ।
संस्थागत निक्षेपतर्फ भने एनएमबि बैंकले मात्रै ब्याजदर घटाएको छ । बैंकले ३.५० प्रतिशतबाट घटाएर ३.२५ प्रतिशत कायम गरेको छ ।
बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार उल्लेखित अधिकतम ब्याजदर सामान्यतया पाँच वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपका लागि हुन् । एकवर्षे मुद्दती निक्षेपमा भने अधिकांश बैंकको ब्याजदर २.७५ प्रतिशत रहेको छ । यो नेपाल राष्ट्र बैंकले कायम गरेको ब्याजदर करिडोरको तल्लो सीमा हो ।




